अहिले भोट माग्न धुइरिएका छन भूकम्पपछि सान्त्वना दिनसमेत बस्ती नपुगेकाहरू - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

May 8, 2017

अहिले भोट माग्न धुइरिएका छन भूकम्पपछि सान्त्वना दिनसमेत बस्ती नपुगेकाहरू

भूकम्पले थिलथिलो पारेको रसुवाको लाङटाङ क्षेत्रमा यतिबेला चुनावी चहलपहल छ । भूकम्पपछि सान्त्वना दिनसमेत बस्ती नपुगेकाहरू अहिले भोट माग्न धुइरिएका छन् । यहाँका हिमाली बस्ती, उकालीओरालीमा भोट माग्नेको लावालस्करै भेटिन्छ ।
सदरमुकाम धुन्चे भने केही दिनयता सुनसान छ । धुन्चेमा भन्दा रौनक छ, चीनसँग सीमा जोडिएको रसुवागढी, टिमुरे, स्याफ्रुबेंसी, कालिकास्थान र बेत्रावतीतिर ।  सबै पार्टीका उम्मेदवार सदरमुकाम बाहिरका गाउँँतिर भोट माग्न व्यस्त देखिन्छन् । ‘विकट क्षेत्र भएकाले बास बस्दै भोट मागिरहेको छु,’ गोसाइँकुण्ड गाउँँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार फुर्पा तामाङले भने, ‘अझै केही दिन गाउँँ डुल्ने योजना छ ।’ उनको अर्को टोली अर्को गाउँँमा खटिएको छ ।

गोसाइँकुण्ड जिल्लाकै ठूलो, पर्यटकीय केन्द्र र सदरमुकाम धुन्चेसमेत रहेको गाउँँपालिका हो । पर्यटकीय केन्द्र लाङटाङ, क्यान्जिङ, सांस्कृतिक तथा धार्मिक महत्त्वको गोसाइँकुण्ड, लाङटाङ निकुञ्ज र चीनसँग नाका जोडिएको रसुवागढी नाका यसै गाउँँपालिकामा पर्छ । त्यसैले यो गाउँँपालिकालाई यहाँका दलहरूले बढी नै महत्त्व दिएर ‘हेबिवेट’ नेता उम्मेदवार बनाएका छन् ।

यो गाउँँपालिकामा कांग्रेसले जिल्ला सभापति पेम्बाछिरिङ तामाङलाई अध्यक्षको उम्मेदवार बनाएको छ । पेम्बा एक सातादेखि हिमाली बस्तीहरूमा भोट माग्न व्यस्त छन् । यो जिल्लामा २७ हजार आठ सयको हाराहारीमा मतदाता छन् ।

सदरमुकाम धुन्चेमै घर भएका गोसाइँकुण्ड गाउँपालिकामा एमालेबाट अध्यक्षका उम्मेदवार कैसाङ नुर्पू तामाङ पनि चार दिनदेखि गाउँतिरै व्यस्त छन् । वृद्धिम, टिमुरे, स्याफ्रुबेंसी, भार्खु, ठूलो स्याफ्रुमा दुई चरण घरदैलो गरे पनि उनी अझै ढुक्क बन्न सकेका छैनन् ।

भोट तान्न उनले भूकम्प पीडितको मापदण्डभित्र नपरेका यस क्षेत्रका ३ सय ९५ घरधुरीलाई समेट्न प्रशासनसमक्ष पहल गरिरहेका छन् । सँगै रोजगारी, पर्यटन प्रवद्र्धन र सडक सञ्जाल विस्तारका साथै विकासलाई मुख्य मुद्दा बनाएर भोट मागिरहेका उनी ।

यो गाउँपालिकाका अधिकांश मतदाता तामाङ समुदायका हुन् । त्यही भएर चारवटै दलका उम्मेदवार पनि तामाङ समुदायकै छन् । नयाँ शक्तिले महिला, कामीबुटी तामाङलाई अध्यक्षको उम्मेदवार बनाएको छ । उनलाई पूर्वसभासदसमेत रहेका नयाँ शक्ति पार्टीका जिल्ला संयोजक प्रेम तामाङले गाउँ–गाउँ डुलाइरहेका छन् । साना बस्ती, एउटै पदमार्ग भएर घरदैलो गर्नुपर्ने भएकाले दलका उम्मेदवार सँगसँगै बस्ती पुग्ने गरेका छन् । त्यसो हुँदा गाउँमा रमाइलो हुने गरेको छ । ‘दिनदिनै नेता आउनेक्रम जारी छ,’ ठूलोस्याफ्रुका पेमा दोर्जे तामाङले भने, भूकम्पमा नआएका मान्छेहरू अहिले नमस्कार गर्दै आइरहेका छन् ।’

छरिएको बस्ती र सडक सञ्जाल कम भएकाले भोट माग्न पैदलयात्रा गर्नुपर्ने बाध्यता रहेको नयाँ शक्तिका प्रेमले सुनाए । ‘कुनै गाउँ पुग्न दुई दिनसम्म लाग्छ,’ उनले भने, ‘त्यस्ता ठाउँ पुग्दा बाटो र विकास चाहियो भन्ने आवाज बढी सुनिन्छ ।’ भूकम्पले क्षतविक्षत पारेको लाङटाङ विस्तारै लयमा फर्किन थालेको छ । होटलहरूमा पर्यटकको आगमनपछि यस क्षेत्रका बासिन्दाका मुहारमा उज्यालो छाउन थालेको छ ।

सडक पुगेका गाउँमा दलहरूबीच मोटरसाइकल र गाडीको प्रतिस्पर्धा नै छ । अरूमा जस्तो यहाँ चुनावी गीत बजाएको सुनिन्न । रसुवाको सीमा सुरु हुने बेत्रावतीदेखि कालिकास्थान र सदरमुकाम धुन्चेदेखि रसुवागढीसम्मको सडकमा पाइलैपिच्छे झन्डा फहराएका गाडी र मोटरसाइकल भेटिन्छन् । भोट माग्ने शैली र प्रचारशैली पनि उस्तै छ । बिहान उज्यालो भएदेखि नै उम्मेदवारहरूको सक्रियता देखिन्छ ।

सदरमुकाम तलका गाउँपालिकामा पनि उम्मेदवार घरदैलोमै व्यस्त छन् । पाँच गाउँपालिकामा ५ सय १२ जना उम्मेदवार छन् । अध्यक्षमा दुई जना मात्र महिला उम्मेदवार छन् । कालिका गाउँपालिकामा एमालेले सीता पौडेल अधिकारी र गोसाइँकुण्ड गाउँपालिकामा नयाँ शक्तिले कामीबुटी तामाङलाई अध्यक्षको उम्मेदवार बनाएको छ ।

कालिका गाउँपालिकामा राप्रपाबाट अध्यक्षका उम्मेदवार टीकाप्रसाद देवकोटा प्रचारप्रसारका क्रममा बसमै भेटिए । २६ वटा प्रतिबद्धतासहितको पर्चा बाँडदै हिँडेका उनलाई मतदाताले भने ती बुँदाभन्दा बाहिरका प्रश्न सोधेर हैरान पारेका छन् । अधिकांश मतदाताले उनलाई भूकम्पपछिका दुई वर्षचाहिँ किन गाउँ आउनुभएन भन्ने प्रश्न सोध्ने गरेका छन् । ‘नेताहरूले जितेर केही गरिदेलान् भन्ने विश्वास कत्ति छैन,’ ठूलो स्याफ्रुका बागछिरिङ तामाङले कान्तिपुरसित भने, ‘भोट माग्न आउनेलाई नआऊ भन्न मिलेन ।’

सरकार र दलहरूको झूटो आश्वासनले आजित भएका अधिकांश यतिबेला आफैं घर बनाउन व्यस्त छन् । कति पीडितले सरकारबाट पहिलो किस्ताको ५० हजार रुपैयाँ पनि पाएका छैनन् । केहीले भने सरकारी राहतबाट वाक्क भएर ऋण गरेर घर बनाइरहेका छन् । पर्यटकीय क्षेत्र भएकाले लाङटाङमा यतिबेला होटल र कटेज निर्माण तीव्र गतिमा भइरहेको छ । ठूलो स्याफ्रुका वाङछिरिङले भूकम्पले भत्काएको आफ्नो होटलको नयाँ भवन बनाइरहेका छन् । भूकम्पले क्षतविक्षत पारेको टिमुरे, स्याफ्रुबेंसी, गत्लाङ, सानोभार्खु, ठूलो स्याफ्रु, सानो स्याफ्रु, राम्चेमा भटाभट नयाँ घर बनिरहेका छन् ।

प्रचारमा युवा मात्र 
सबैजसो पार्टीको प्रचारमा युवाहरूको सक्रियता देखिन्छ । उम्मेदवारले युवाहरूको समूह गाउँ–गाउँमा परिचालन गरेका छन् । सडक सञ्जालले छोएका गाउँहरूमा मोटरसाइकलमा प्रचारमा हिँड्ने युवाको ताँती देखिन्छ । बेत्रावती, कालिकास्तान, धुन्चे, स्याफ्रुबेंसी, टिमुरेलगायत स्थानमा सडकमा झन्डा नभएका मोटरसाइकल र गाडी विरलै भेटिन्छन् । टहरा र झुपडीमा पार्टीका झन्डा र चुनावचिह्न फहराइरहेका छन् । एउटै टहरामा सबै पार्टीका झन्डा र चुनाव चिह्न पनि देखिन्छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here