पार्टीकाे झन्डाविहीन छ याे मियाँ टोल - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 16, 2017

पार्टीकाे झन्डाविहीन छ याे मियाँ टोल

 


साँफेबगर नगरपालिका ८ मियाँ टोलमा २७ परिवार मुस्लिम समुदायका घरमा कुनै पार्टीका झन्डा टाँगिएका छैनन् । यसको अर्थ उनीहरूले निर्वाचन बहिष्कार गरेका भने होइनन् । निर्वाचनको मुखैमा अरू बस्तीमा झन्डाले रंगिएका बेला मुस्लिम बस्ती भने झन्डाविहीन छ । यो बस्तीमा निर्वाचन प्रचारप्रसारका लागि प्रमुख दलका उम्मेदवार आउने क्रम जारी छ । त्यहाँ आउने सबै उम्मेदवारलाई उनीहरू स्वागत गरेर पठाउँछन् ।

ती उम्मेदवारलाई मुस्लिम समुदायको एउटै अनुरोध छ, ‘हामी मनले खाएको उम्मेदवारलाई मत दिन्छौं, कृपया हाम्रो घरमा पार्टीको झन्डा नराखिदिनुहोला ।’ सबै टोलमा पार्टीको झन्डा राखेको छ, तपाईंले किन नराखेको ? कान्तिपुरको प्रश्नमा उनीहरूको जवाफ थियो, ‘हामी सबै दाजुभाइ मिलेर बसेका छौं, हाम्रो फरकफरक विचारधारा पनि छ, तर हामी घरको धुरीमा झन्डा राखेर विभाजन ल्याउन चाहन्नौं,’ स्थानीय नजिर मियाँले भने, ‘घरघरमा झन्डा राखे पछिसम्म मनमुटाव आउन सक्छ ।’

उनले गोप्य मतदानमा आफूले रोजेको उम्मेदवारलाई छान्न पाउने स्वतन्त्रता सबैलाई भएको स्पष्ट गरे । रमजान चलिरहेका बेला बलयपाटाका मुुस्लिम समुदायलाई निर्वाचनले राम्ररी नै छोएको छ । तर उनीहरूको अल्पसंख्यक समुदायलाई प्रमुख राजनीतिक दलले बेवास्ता गरेकामा चित्त दुखाइ छ । ‘हामी अल्पसंख्यक समुदायको माग पूरा हुँदैन होला भनेर उम्मेदवारसामु खास माग राखेका छैनौं,’ शम्भु मियाँले आफ्नो गुनासो सुनाए, ‘हामी चुनाव लड्न पनि सक्दैनौं, जित्न पनि सक्दैनौं, किनकि हामी यहाँ अल्पसंख्यक हौं ।’ कांग्रेसले मात्र वडा सदस्यमा ललिता मियाँलाई अल्पसंख्यकबाट उम्मेदवार बनाएको छ ।

अछामजस्तै पहाडी क्षेत्रमा अल्पसंख्यक रूपमा रहेका समुदायलाई पहिचान नदिएकामा उनीहरूले आक्रोश पोखे । ‘पहाडका अल्पसंख्यक समुदायलाई बेवास्ता गरियो । हामीलाई अल्पसंख्यक समुदायमा राखिएन, त्यसअनुसार सुविधा पनि छैन,’ शम्भुको भनाइ छ, ‘सबै जातजातिलाई उत्तिकै सम्मान दिनुपर्ने होइन र ?’

बयलपाटामा मुस्लिम समुदाय आएको १० पुस्ता बितिसकेको उनीहरूले सुनाए । यो बस्तीमा २७ परिवारका दुई सय २८ जना बसोबास गरिरहेका छन् । यो बस्तीका ७२ मतदातालाई फकाउन प्रमुख दलले कसरत जारी राखेका छन् । तर उनीहरूलाई खासै आशा र भरोसा लागेको छैन । ‘आजसम्म राजनीतिक दलले चुनावमा मीठा कुरा गरे, त्यसपछि आफ्ना वाचा पनि बिर्से,’ सुरत मियाँले थपे, ‘त्यसकारण पनि उम्मेदवारका कुराको विश्वास खासै लाग्दैन ।’

कुनै बेला चुराको व्यापार गर्दै अछाम पुगेका उनीहरू यतै बसे । बस्दै जग्गा जमिन जोडे, अहिले उनीहरूले पुख्र्यौली पेसा छोडिसकेका छन् । हाल उनीहरूको मुख्य पेसा खेतीपाती हो । गाउँमा सानो मस्जिद र प्राथमिक विद्यालय (मदरसा) छ । त्यो विद्यालयमा नेपाली, अंग्रेजीका साथै उर्दू र अरबी पढाइ हुन्छ । यहाँका मुस्लिमहरूको बोलीभाषा र रहनसहनमा ब्राह्मण, क्षेत्री समुदायको प्रभाव छ । ‘वेशभूषा र बोलीभाषामा अरू समुदायको प्रभाव पर्‍यो,’ डोट्याली लवजमा सुरतले हाँस्दै भने । गाउँको बीचमा रहेको मस्जिदमा प्रार्थना भने नियमित हुन्छ ।

सधैं किन बेवास्ता ? 
अछामको सदरमुकाम मंगलसेन नगरपालिका–५ मा अल्पसंख्यक बादी समुदायलाई निर्वाचन लागेको छ । आर्थिक रूपमा विपन्न उनीहरूको दैनिक गुजारा गर्न मुस्किल छ । कांग्रेस पूर्वजिल्ला सदस्यसमेत रहेकी सीता बादी पनि यो निर्वाचनमा निराश देखिइन् । ‘आफ्नै पार्टीले पनि बेवास्ता गर्‍यो, हाम्रो कुरा पनि सुनेन,’ उनले सुनाइन् ।

पुस्तौंदेखि मादल र चिलिम (माटो सुल्पा) बनाउने पेसा संकटमा परेपछि हाल मजदुरी र मागेर गुजारा गर्दै आएका छन् । यहाँका अल्पसंख्यक बादी समुदाय सुकुम्बासी हुन् । ‘हाम्रो पुरानो पेसा बन्द भयो, अब मागेर गुजारा चल्दैन,’ टंकी बादीको भनाइ छ, ‘घरबासको व्यवस्था गर्छौं भनेको वर्षौं भयो, अहिलेसम्म छैन ।’
सदरमुकाम छेउको दलितहरूको घर भाडामा लिएर बस्दै आएका उनीहरूले बंगुर पालनका लागि अनुदान पाए पनि पाल्न पाएनन् । ‘घरबेटीले गन्हाउँछ भनेर बंगुर पाल्न दिएनन्, आएको पैसा पनि फिर्ता भयो,’ सीता बादीले सुनाइन् ।

विपन्न बादी परिवारलाई आफ्ना पक्षमा मतदान गरे ‘आर्थिक सहयोग गर्ने’ आश्वासन पनि आएको छ । ‘पैसा दिन्छांै, हामीलाई भोट हाल भनेर केहीले भनेका छन्,’ गणेश बादीले भने, ‘हाम्रो अवस्था झन् खराब हँ‘दै गएको छ, हाम्रा बाआमा आसैआसमा बिते ।’ उनले एक महिनाअघि आमाको मृत्यु हुँदा जलाउने दाउरासमेत नपाएकाले शव गाड्नुपरेको पीडा सुनाए । त्यसबेला मानवीय हिसाबले पनि कसैले सहयोग नगरेको उनको दु:खेसो छ । हाल मंगलसेनमा पाँच बादी परिवार बस्दै आएका छन् । उनीहरू कसैको पनि घरबास छैन ।
बादी परिवारले आआफ्नो पीडा सुनाइरहँदा मंगलसेन बजारमा कांग्रेस, एमाले र माओवादीका मेयरका उम्मेदवार प्रचारमा व्यस्त थिए । कांग्रेसका उम्मेदवार चन्द्रप्रसाद ढुंगाना र लोकबहादुर बोगटी तालमेलको तयारीमा थिए । ‘हामी मंगलसेनको समस्याबारे जानकार छौं,’ एक साथ भेटिएका ढुंगाना र बोगटीले भने, ‘त्यसको समाधानका लागि हाम्रो पूरै ध्यान लाग्नेछ ।’

बेरोजगारी समस्याका कारण ठूलो संख्यामा अछामी काम खोज्दै भारत जान्छन् । करिब दुई लाख ५६ हजार जनसंख्या भएको जिल्लामा करिब २० प्रतिशत भारतमा काम गर्न जान्छन् । एमाले उम्मेदवार पदम बोहराले एक घर एक रोजगारी दिने दाबी गरे । ‘रोजगारी यहाँको मुख्य समस्या हो, यसका लागि अभियानै थाल्नुपर्छ,’ उनले भने । अछाममा एक लाख २७ हजार ७ सय ४२ मतदातामध्ये मंगलसेनमा १५ हजार एक सय ७८ मतदाता छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here