कैलाली र कञ्चनपुरको सीमा छुट्याउने मोहना
नदी छेउमै रहेको थारू बस्ती उद्यमले परिचित छ । बस्ती प्रवेश गरेसँगै
जताततै हराभरा देख्न सकिन्छ । साँझ–बिहानको समयमा सबैजना मिलेर
बारीमा काम गरिरहेका देखिन्छन् । ८०/९० परिवार थारू समुदायको बसोबास रहेको
शान्तिटोलमा घरैपिच्छे तरकारी खेती गरिएको छ । यहाँका अधिकांश बासिन्दाले
१०/१५ कठ्ठादेखि २/३ बिघासम्म तरकारी खेती गरिरहेका छन् । हिउँद होस् या
वर्षा यहाँ बाह्रै महिना तरकारी पाइन्छ । जमिन नभएकाहरूले पनि ठेक्कामा
लिएर तरकारी खेती गरेका छन् ।
शान्तिटोलकै भागीराम चौधरीको
परिवारलाई खान लाउन निकै समस्या थियो । ज्याला मजदुरी गरेरै उनको परिवारको
गुजारा जेनतेन चलेको थियो । तर, हाल उनले खान लाउनकै लागि ज्याला मजदुरी
गर्नुपर्ने बाध्यता टरेको छ । अरूको खेतमा काम खोज्दै जाने उनको परिवार हाल
अरूलाई रोजगारी दिन सक्ने भएको छ । १०/१२ वर्षदेखि तरकारी खेती सुरु
गरेपछि भागीरामको परिवारको अवस्था फेरिएको हो । ‘पहिले खान लाउनसमेत
पुग्दैनथ्यो,’ उनले भने, ‘हाल यसैबाट खान लाउन र छोराछोरीको पढाइ खर्चसँगै
घर घरेडी पनि जोड्न भ्याइएको छ ।’
तरकारी खेतीमै लागेका रामकिसन
चौधरीले तरकारी खेतीले गाउँमा निकै परिवर्तन ल्याएको बताए । चौधरीले भने,
‘तरकारी खेतीबाटै यहाँका धेरैले घरपरिवारको खर्चसँगै घर घरेडी र साना खालका
सवारी साधनहरू जोडेका छन् ।’ आयस्तर बढेकै कारण यहाँका कृषकले परमपरागत
घरको साटो पक्की घर बनाएका छन् । एक कृषक परिवारले एक सिजनमा ५/७ लाख
रुपैयाँभन्दा बढीको तरकारी बिक्री गरिरहेको उनले बताए ।
शान्तिपुर
टोलबाट दैनिक २० क्विन्टल बढी तरकारी बाहिरिने गरेको छ । यहाँबाट कैलालीको
अत्तरिया र गेटासँगै कोहलपुर तथा बुटवलसम्म तरकारी बाहिरिने गरेको कृषकहरू
बताउँछन् । टमाटर, काउली, करेला, लौका, फर्सी, मूला, बोडी र भिन्डीलगायतका
तरकारी यहाँ उत्पादन गरिन्छ । ‘सिजनमा एउटै परिवारले १०/१२ क्विन्टल तरकारी
बिक्री गर्छन्,’ अर्का कृषक रतन चौधरीले भने । हाल कृषकहरू बर्खे तरकारी
लगाउनमा व्यस्त छन् ।
No comments:
Post a Comment