अवकाश रोज्नेको बिदाइ शुक्रबारबाट - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 1, 2012

अवकाश रोज्नेको बिदाइ शुक्रबारबाट

काठमाडौ, माघ १८ - अवकाश रोज्ने माओवादी लडाकुको बिदाइ प्रक्रिया शुक्रबारबाट सुरु हुने भएको छ । योजनाअनुसार काम भए अबको केही दुई साताभित्र अवकाश रोज्ने ७ हजार ३ सय ६५ लडाकु तहअनुसार आफूले पाउने ५ देखि ८ लाख रुपैयाँमध्ये आधा रकम लिएर घर पुग्ने भएका छन् । माओवादी सेनाका लडाकुको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समितिको गत शुक्रबारको बैठकले मंगलबारबाटै काम थाल्न निर्देशन दिए पनि प्राविधिक तयारी नसकिएकाले शुक्रबारबाट काम थाल्ने सचिवालय सदस्य सनन्दनप्रसाद कुर्मीले जानकारी दिए । सचिवालय टोलीहरू बिहीबार साँझसम्म सम्बन्धित शिविरमा पुगिसक्ने र शुक्रबारबाट काम थाल्ने सचिवालयको मंगलबारको बैठकले निर्णय गरेको छ । सचिवालयले माओवादी लडाकुका ७ मुख्य र २१ सहायक गरी २८ वटा शिविरमै पुगेर स्वैच्छिक अवकाशमा जानेका लागि बिदाइ कार्यक्रम गर्ने र काम थालेको मितिले १२ दिनभित्र सक्ने योजना बनाएको छ । सचिवालयमा माओवादीतर्फ सदस्य तथा लडाकु डेपुटी कमान्डर चन्द्रप्रकाश खनालले अवकाशको बिदाइ प्रक्रिया सहज रूपमा अघि बढ्ने बताए । दुई सचिवालय सदस्यसहित कम्तीमा १२/१२ सदस्यीय सात टोली बनाउने र प्रत्येकले एक मुख्य र तीन सहायक गरी चार शिविरमा कार्यसम्पादन गर्ने सचिवालयको योजना छ । मृतकको हकमा भने नजिकका नातेदारका नाममा खाता खोली सबै रकम एकै किस्तामा चेकमार्फत दिने व्यवस्था मिलाइने छ । सबै लडाकुका नाममा खाता खोलिसकिएको छ, बिदाइका क्रममा लडाकुलाई एकाउन्ट पेयी चेक उपलब्ध गराइनेछ । सोही जिल्ला वा तराईका सुगम जिल्ला घर भएका लडाकुलाई २, पहाडी जिल्लाकालाई ५ र हिमाली जिल्लाकालाई ८ हजार बाटो खर्चसमेत दिइनेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here