विलक्षण शिशु - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 6, 2012

विलक्षण शिशु

चि.कित्सकहरू हस्याङफस्याङ गर्दै घरी यो सामान ल्याऊ भन्थे, घरी त्यो औषधि ल्याऊ भन्थे। आत्तिनुपर्ने त खासै केही थिएन तर पनि चिकित्सकले तोकेको समयभन्दा झन्डै एक महिनाअघि नै अनुजा आमा बन्न लागिरहेकी थिइन्। त्यसैले चिकित्सकहरू सतर्क थिए। अनुजा 'आमा' बन्ने पर्खाइमा अस्पतालको बेडमा छटपटाइरहेकी थिइन् । 

अनुजाका सासू-ससुरालगायत घरपरिवारका सबै मानिस लैङ्गकि असमानताका विरुद्ध आवाज बुलन्द गर्ने परिवारमा पर्थे। छोराछोरीमा उनीहरू समानता देख्थे। र त, आधुनिक समाजका अगाडि उनीहरू निकै प्रतिष्ठित जीवन बिताइरहेका थिए। छोराछोरीबीचको विभेद हटाउने अभियानमा लागेकै कारण समाजभित्रका नवयुवाहरूका नायक बनेका थिए-उनीहरू।

'च्याहाँ' 'च्याहाँ' 'च्याहाँ'। बाहिरसम्म शिशु रोएको आवाज सुनियो । पहिलो सन्तानकी आमा बनिन्-अनुजा। प्रसवकर्ममा सहयोगी बनेका चिकित्सकहरू आमा एवं नवजात शिशुको स्वास्थ्यमा कुनै किसिमको प्रतिकूलता देखा नपरेकोमा हषिर्त भए । हर्षको यस क्षणमा अप्रत्यासित खुसी बाँड्न प्रसवकक्षबाट बाहिर निस्किए उनीहरू । उपस्थित सबैलाई बधाई दिए।

चिकित्सकको बधाईप्रति कृतज्ञतावापत धन्यवाद ज्ञापन गर्नुको साटो उपस्थित सबैले चिकित्सकसँग हतारहतार एउटै स्वरमा प्रश्न गरे,-'छोरा कि छोरी ?'

'छोरी।' चिकित्सक लामो कुरा गर्नतिर लागेनन्। जवाफ दिए र फेरि भित्र पसे । यता उपस्थित सबैको अनुहार कालो बादल लागेको दिनको मौसम जस्तो भयो । न पानी पर्न सक्ने, न त घाम लाग्न नै । वातावरणमा एक्कासि सन्नाटा छायो।

विवाह भएको तीन वर्ष पनि नपुगी अनुजा आमा बनेकी थिइन्। अरूको सामान्य जिज्ञासामा 'पहिलो सन्तान जे भए पनि भैहाल्छ नि' भन्थे उनीहरू। त्यतिखेर उनीहरूको 'आत्मा बोलेको हुन्थ्यो वा मुख' उनीहरू नै जानून् तर सन्तोष नगर्नु पर्ने ठाउँ कत्ति पनि थिएन।

नवजात शिशु विलक्षण प्रतिभासम्पन्न थिइन्। जन्मिएको केही दिनमै उनले घरको सबै चालामाला बुझिन्। अग्रजहरूको भित्री अभिलाषा थाहा पाइन् तर पनि उनी खिन्न भइनन्, हिम्मत हारिनन्। बरू एक रात सपनामा घरपरिवार सबैका अगाडि गएर उनी कुर्लिन्,- 'के म छोरी भएर जन्मिएकीले तपाईंहरूको मन अमिलिएको हो ? छोरीहरूका विषयमा तपाईंहरूलाई थाहा छ कि छैन ? मार्गरेट थ्याचर छोरी भएर पनि बेलायतकी प्रधानमन्त्री बनिन् । सिरिमाओ बन्दारानायके श्रीलंकाकी प्रधानमन्त्री बनिन्। उनकै छोरी चन्दि्रका कुमारातुङ्गा त्यही श्रीलंकामा पहिले प्रधानमन्त्री र पछि राष्ट्रपति बनिन्। बंगलादेशमा प्रधानमन्त्री बन्ने बेगम खालिदा जिया हुन् कि शेख हसिना बाजेद । ती दुवै कसै न कसैका छोरी नै हुन्। भारतमा प्रधानमन्त्री बनेर विश्वविख्यात बन्न सफल इन्दिरा गान्धी मात्र होइन त्यसै देशमा राष्ट्रपति बनेकी प्रतिभादेवी पाटिल दुवै छोरी नै हुन्।'

'तपाईंहरूलाई यस्ता उदाहरण कति दिउ“m ? दुर्गाको दिउ“m कि सीताको दिउ“m ? राधाको दिउ“m कि कुन्तीको दिउ“m ? भन्नुहोस्, कुन युगका उदाहरण दिउ“m ? कुन विधाको उदाहरण दिउ“m ? बोल्नुहोस्, किन बोल्न सक्नुहुन्न ? छोरी भनेर मलाई अहिल्यैदेखि प्रताडित गर्ने ? कि, आफ्नो कर्तव्यतिर लाग्ने ? मेरो के अपराध छ र मसँग यसरी अमिलिनुहुन्छ ? छोरा र छोरी के तपाईंहरूको अधिकार र वशको कुरा हो ? अनि, के छोराले मात्र युगौंयुगसम्म तपाईंहरूको सृष्टि चल्छ ? बोल्नुहोस्, किन बोल्नुहुन्न ?'

रातको पछिल्लो प्रहर। रात आफैं भरखर-भरखर बिउँझिन लागेको थियो। त्यसभन्दा पहिले सपनामा शिशुको झापड खानेहरू बिउँझिए। अचम्मको सपना। नवजात शिशुको तर्कयुक्त हप्काइ । कहिल्यै नसोचेको कुरा। सबैले निकै अनौठो माने। धेरैबेर मन बाँध्न सकेनन्। के गर्ने, के नगर्ने, भन्दाभन्दै देखेको सपना सबैले एकआपसमा साटे। सबैको एउटै सपना। फेरि अचम्म माने। अहो, कस्तो संयोग ? साँच्चै सबैको एउटै सपना ? यो के अनौठो ? अहिलेसम्म नभोगेको र नचिताएको कुरा ?

अब उनीहरूको मनले सपना सपनै हो भन्न मानेन । डराई-डराई त्यो नवजात शिशुलाई एकैसाथ चियाउन पुगे उनीहरू। यसअघि त्यो शिशुलाई राम्रोसँग हेरेका पनि थिएनन् उनीहरूले । बिचरी चार-पाँच दिनकी कलिली शिशु। आमाको तातो काखमा गुजुल्टिएर 'फ्वाँ' 'फ्वाँ' निदाइरहेकी थिइन् । हेर्नेहरूले हेरिमात्र रहे, केही बोल्न सकेनन्। 

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here