काठमाडौ, माघ २४ - पत्नी हत्याको अभियोगमा थुनामा रहेका सशस्त्र प्रहरीका डीआईजी रञ्जन कोइरालाकी 'कान्छी श्रीमती' भनिएकी तारा रेग्मी पक्राउ परेकी छन् । महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई सोमबार साँझ डिल्लीबजारबाट पक्राउ गरेको हो ।
डीआईजी कोइरालाले पुस २७ गते श्रीमती गीता ढकालको हत्या गरेर शव मकवानपुरको पालुङमा पुर्याई पेट्रोल खन्याएर आगो लगाएका थिए । प्रहरीले हत्यामा रेग्मीको समेत संलग्नता हुन सक्ने आशंका गरेको थियो । कोइरालाले भने आफू एक्लैले हत्या गरेको बताउँदै आएका छन् । कोइरालालाई प्रहरीले माघ ८ गते नागढुंगाबाट पक्राउ गरेको थियो । रेग्मी त्यसलगत्तै 'फरार' थिइन् ।
स्रोतअनुसार पूर्वभलिबल खेलाडी रेग्मीलाई ढकाल हत्याबारेमा सोधपुछ गर्न पक्राउ गरिएको हो । 'घटनापछि अचानक फरार भएकाले हामीलाई उनको भूमिकाप्रति शंका लागेको थियो,' काठमाडौंका एक प्रहरी अधिकृतले भने, 'उनी मलेसियाबाट फर्किएको खबर पाउनेबित्तिकै पक्राउ गरिएको हो ।'
जावलाखेलमा रेडरोज मेनपावर कम्पनी सञ्चालन गर्दै आएकी रेग्मीको मिलेमतोमा कोइरालाले हत्या गरेको दाबी ढकालका माइती पक्षले गर्दै आएको थियो । प्रहरीले अनुसन्धानका क्रममा रेग्मीको संलग्नता नभएको स्पष्ट पारेको थियो । काठमाडौं प्रहरी प्रमुख एसपी राजेन्द्र श्रेष्ठले कोइरालाका बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा रेग्मी निर्दोष रहेको बताएका थिए । सोमबार दिउँसो महाशाखाले रेग्मीलाई चिन्ने म्यानपावर सञ्चालन गर्ने महिलाहरूलाई बोलाएर सोधपुछ गरेको थियो ।
घटनाबारे जानकारी लिन खोजी सुरु गरेपछि उनी सम्पर्कविहीन भएर बसेको प्रहरी स्रोतले बतायो । प्रहरीका अनुसार रञ्जन र ताराबीच झन्डै २ वर्षदेखि प्रेमी-प्रेमिकाको सम्बन्ध थियो । 'कतिपय अवस्थामा घटना घटाउनलाई त्यसमा संलग्न नै हुनुपर्छ भन्ने हुन्न,' अपराध महाशाखाका एक प्रहरी अधिकृतले भने, 'त्यसलाई उक्साउने वा उत्तेजनामा ल्याउने कामले समेत अपराध गराउँछ, रेग्मीसँग त्यसैका बारेमा सोधपुछ गर्न लागिएको हो ।' वैदेशिक रोजगार प्रवर्द्धन बोर्डकी सदस्य रेग्मीलाई हनुमानढोकास्थित हिरासतमा राखिएको छ । कोइराला पनि हनुमानढोकामै प्रहरी हिरासतमा छन् ।
No comments:
Post a Comment