आफ्नो वाल्यकाल बिताएको गाउँमा एमाले अध्यक्ष केपी शर्मा ओली - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 22, 2017

आफ्नो वाल्यकाल बिताएको गाउँमा एमाले अध्यक्ष केपी शर्मा ओली

 http://1hu9t72zwflj44abyp2h0pfe-wpengine.netdna-ssl.com/wp-content/uploads/2015/09/CPN-UML-Sharma-KP-Sharma-Oli.jpg


आफ्नो वाल्यकाल बिताएको गाउँमा बुधबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको भव्य स्वागत भयो । उनी आउने मेसो पाउँदा साबिक शरणामती गाविस, हाल झापा गाउँपालिकाका स्थानीयले मोटरसाइकल र्‍याली नै निकाले ।

ओलीलाई लिन उनका समर्थक कनकाई नगरपालिकाको सुरुङ्गा बजारसम्म आइपुगेका थिए । बिहान ८ बजे कामाटोली बजारमा चुनावी कार्यक्रम राखिएको थियो । तर, आफ्नो पुरानो ठाउँमा इष्टमित्र, छरछिमेकलाई भेट्दै जाँदा ओलीलाई कार्यक्रम स्थल पुग्न झण्डै दुई घण्टा लाग्यो ।

विगतका कुराहरु स्मरण गर्दै ओली सुरुङ्गाबाट ओरालो लागे । कनकाई नगर र झापा गाउँपालिकाबासी उनको स्वागतमा बाटैभरि उभिएका थिए ।

समर्थकलाई हात हल्लाउँदै अघि बढेका उनी झापा गाउँपालिका–६, शरणामतीमा रोकिए । त्यो ठाउँले उनलाई विगतको स्मरण गराएछ । यो गाउँ त्यही हो, जहाँ केपीको बाल्यकाल बितेको थियो ।

‘मुन्द्रे बन्छु भन्थ्यो, यत्रो भएछ !’
हालको कनकाई–९ मा रहेको घैलाडुब्बा स्कुलमा उनले अध्ययन गरेका थिए । शरणामतीमा रहेको बडीआमाको घरमा गाडी रोकिनासाथ केपीका भाइ रामचन्द्र ओलीका छोरा रोजश छेऊमा आए । भतिजलाई देखेर केपीले भने, ‘पहिला मुन्द्रे बन्छु भन्थ्यो, अहिले यत्रो भइसकेछ ।’ रोजश मुसुक्क हाँसे । परिवारका अन्य सदस्यले पनि उनीको स्वागत गरे । केहीवेर त्यहाँको बसाइमा स्थानीयको भीड नै लाग्यो । 

ओलीले उनीहरुलाई पहिलेका छरछिमेकहरुका बारेमा केहीलाई प्रश्न गरे । घैलाडुब्बा पढ्न जाँदाका दिनहरुका बारेमा पनि उनलाई प्रश्न सोधिए ।

स्थानीयका अनुसार त्यसबेला यहाँबाट स्कुल पुग्न डेढ घण्टा हिँड्नु पथ्र्यों । बडीआमाको घरबाट निस्किँदै गर्दा उनलाई ओलीलाई सोध्यौं–कति समयपछि गाउँ फर्किनुभएको हो ? उनले गत वर्ष आफू यहाँ आएको प्रतिक्रिया दिए । आफ्ना पहिलेका साथीभाइ पनि भेटिए त ? यो प्रश्नमा ओलीले हाँस्दै भने, ‘सबै भेटिए नि ।’ त्यसपछि उनी पुनः कार्यक्रम स्थलतिर लागे । 

फुपूबाट आर्शिवाद
पछाडि सयौंको संख्यामा मोटरसाइकलको लस्कर थियो । बालुबथान पुगेपछि ओलीले आफ्नी जेठी फूपूको घरमा गाडी रोक्न लगाए । र, त्यहाँ पुगेर आर्शिवाद थापे ।
कार्यक्रम स्थलमा पुगेपछि झन उनलाई भेट्नेलाई लस्करै लाग्यो । स्टेजमै भए पनि पालैपालो अधिकांशसँग उनले भेट गरे । आफ्नो पुरानो गाउँमा आएर आधा घण्टा सम्बोधन गरेका उनले विगतको स्मरण, स्थानीय जनता र ठाउँका बारेमा वयान गर्दै धेरै जस्तो समय खर्चिए ।

‘पुरानो सदरमुकाममा विकासको ढोका खुल्यो’
एमाले अध्यक्ष ओलीले स्थानीय ठाउँको विकास र समृद्धिको ढोका खुलेको पनि बताए । उनले यसअघि गाविस अध्यक्ष, उपाध्यक्ष छाने जस्तो नभई अब बन्ने स्थानीय सरकार र निर्वाचित हुने प्रतिनिधिले गाउँको सुशासन, पूर्वाधार विकास, सडक, विद्यालय, विद्युतीकरण, स्वास्थ्य केन्द्र स्थापना, अस्पताल, सहरीकरण, कृषिको आधुनीकरण लगायतको विषयमा काम गर्ने बताए ।
पुरानो सदरमुकाम भए पनि विकासबाट पछाडि परेको झापा गाउँपालिकाको विकासका लागि अब समय आएको उनको भनाइ थियो ।

‘माछा मार्न मलाई बल्छी चाहिन्न’
ओलीले अब बन्ने स्थानीय सरकारले सबैको सपना साकार पार्ने बताए । यो गाउँपालिकामा एमालेबाट उम्मेदवार बनेका गजेन्द्र ताम्लीलाई सतारसँग फुटबल खेल्ने व्यक्ति भन्दै प्रचार गरिएको उनलाई कसैले सुनाएछन् ।
उनले त्यसतर्फ लक्षित गर्दै आफूले पनि धुनकाँड चलाउन सतारबाटै सिकेको बताए ।
‘माछा मार्न, बल्छी हान्न, पानी छेक्न मलाई सिकाउने साथी सतारै हुन्’, उनले भने, ‘मलाई त पानी छेकेर माछा मार्न बल्छी पनि चाहिन्नथ्यो । तपाईंहरु जतिकै सिपालु थिएँ ।’
पूर्वप्रधानमन्त्री ओलीले राँगा र भैंसीको पिठ्यूँमा चढ्न सिकाउने साथी पनि सतारै भएको सुनाए । यति मात्र होइन, उनले ती साथीको नामै उच्चारण गरे । ‘भोक्न मुर्मु’, उनले भने, ‘उनी नै मेरा साथी हुन्, जसले मलाई यी सबै कुरा सिकाए ।’
राम मुर्मु आफूसँगै पढेको र पौडी खेल्न सिकाउने साथी भएको उनले बताए । र, भने, ‘म सतारसँग खेलेर हुर्किएको मान्छेले देश चलाउन सक्छु भने गजेन्द्र ताम्लीले गाउँपालिका चलाउन सक्दैन ?’ त्यसैले गलत प्रचार नगर्न उनले आग्रह गरे ।
यही ठाउँमा ०२९ सालभन्दा अघि आएर सेल्टर लिएर बसेको स्मरण गर्दै ओलीले त्यसबेला संगठनको काम पनि यहीँबाट गरेको सुनाए ।

४५ वर्षअघिको खेलमैदानबाट सम्बोधन
ओलीले बुधबार सम्बोधन गरेको ठाउँ ४५ वर्षअघि आफ्नो खेलमैदान भएको बताए । र, सन्थाल भाषामा बोल्दै एमालेलाई भोट दिन आग्रह गरे ।
आफूले कनकाई, बिरिङ र माई नदीको आसपास खेलेर हुर्किएको सम्झना गर्दै उनले ठट्यौली पारमा भने, ‘यहाँका खोलाहरुले मलाई चिन्थे, त्यसकारण मलाई बगाउँदैनथ्यो, बगायो भने अलि तल्तिर पुग्दा निकाल्थे ।’
‘बिरिङ र कनकाई गाउँ पस्यो ? मलाई फोन गर्नुस्’
जतिबेला केपी ओली खेल्थे, त्यतिबेला तुलसीबारीदेखि चप्रामारीसम्म कासघारी मात्रै रहेको स्थानीय बताउँछन् । त्यस्तो समयमा संघर्ष गरेका ओलीले झापा गाउँपालिकालाई स्मार्ट सिटी बनाउन सहयोग गर्ने वचन दिए ।
जनताको तटबन्धन सुरु भइसकेको भन्दै उनले अब नदीले दुःख नदिने बताए । उनले भने, ‘अब बिरिङ र कनकाईले दुःख दिए मलाई फोन गर्नुस् । रकम छुट्टयाउनेदेखि लिएर के के गर्नु पर्ने हो, तत्काल गर्छु ।’
 
ओलीका समकालीन वडाध्यक्षका उम्मेदवार
साविक शरणामती अहिलेको झापा गाउँपालिकाले आफूलाई राजनीति सिकाएको भन्दै ओलीले आफ्ना समकालीन अझै यहीँ भएको बताए । उनले आफूलाई एमालेको नेतृत्वमा पठाउँदै गर्दा अहिले बालुराम खरेल वडाध्यक्षको उम्मेद्वार बनिरहेको बताए ।
झापाको किसान आन्दोलनका क्रममा भूमिगत हुँदा दाल, भात, तरकारी पकाएर दिने शरणामतीका सन्थाल जाति र मुस्लिम समुदायलाई सम्झिँदै ओलीले झापा गाउँपालिकामा एमाले जित्नैपर्ने बताए ।
उनले भने, ‘मलाई पार्टी अध्यक्ष बनाएको ठाउँ भएकाले पनि यहाँ एमालेले जित्नैपर्छ ।’

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here