मतदान केन्द्र सम्म पुग्न पाँच घन्टा हिँड्नुपर्ने बाध्यता - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 12, 2017

मतदान केन्द्र सम्म पुग्न पाँच घन्टा हिँड्नुपर्ने बाध्यता

रुकुम—आगामी असार १४ गते दोस्रो चरणको स्थानीय तहको निर्वाचमा यहाँको एक मतदान केन्द्रमा पुग्न मतदातालाई पाँच घन्टा पैदल हिँड्नुपर्ने भएको छ। ५ नं प्रदेशमा पर्ने रुकुमको भुमे गाउँपालिका–८ मा रहेको मतदान केन्द्रमा पुग्न त्यहाँका अधिकांश ठाउँका मतदातालाई पाँच घन्टाभन्दा बढी समय हिँड्नुपर्ने बाध्यता भएको हो।
साविकको रुकुमकोट गाविसको ४ नं वडा र महत गाविसका ७ र ८ वडा मिलाएर बनाइएको भुमे–८ को मतदान केन्द्र साविकको महत गाविस–८, को आधारभूत विद्यालय भोल्टीमा छ।

सो मतदान केन्द्रमा पुग्न साविकको रुकुमकोट–४, को मैवाङबाट पाँच, झिम्काबाट चार र कुचिवाङबाट तीन घन्टाभन्दा बढी समय पैदल हिँड्नुपर्ने बाध्यता रहेको मैवाङका रत्नलाल बुढाले बताए।

साविकका दुई गाविसका तीन वडा मिलाएर नयाँ वडा बनाउँदा पायक पर्ने ठाउँमा मतदान केन्द्र नराखिएको त्यस क्षेत्रका मतदाताको गुनासो छ। “जानमात्र पाँच घन्टा लाग्छ अनि आउन पनि त्यति नै समय खर्चनुपर्छ, बुढाले भन्नुभयो – आउन जान १० घन्टा लाग्छ अनि कति बेला लाइन लाग्ने, कति बेला भोट हाल्ने र कतिबेला घर फर्किने। मतदान केन्द्रमा पुगी भोट हालेर सोही दिन घर फर्किने अवस्था नै छैन।”

सबैभन्दा बढी अपाङ्ग र ज्येठ नागरिकलाई मतदानका लागि मतदानस्थलसम्म पुग्न समस्या भएपनि यसतर्फ सरोकारवाला निकाय कसैले पनि ध्यान नदिएको स्थानीयवासीको गुनासो छ। उकालो, ओरालो र खोलानालाका कारण पनि सजिलै मतदानस्थलसम्म पुग्न सहज नभएको कुचिबाङका गोपाल पुनले बताए।

यहाँको भौगोलिक अवस्थाबारे अध्ययन नै नगरी नयाँ वडा बनाएर मतदान केन्द्र कायम गरिएकाले त्यस क्षेत्रमा यस्तो समस्या आएको पुनको भनाइ छ।

स्थानीय तहको सङ्ख्या तथा सिमाना निर्धारण प्राविधिक सहयोग समितिले गरेको जिल्लाको स्थानीय तह तथा वडाको सिफारिस सही नभएको उनले बताए। जिल्ला निर्वाचन अधिकारी कमलमणि देवकोटाले भने राजनीतिक दलको सहमतिमा उक्त निर्णय भएको थियो। अलि पायक पर्ने भनिएको ठाउँमा विद्यालय नभएकाले पनि उक्त ठाउँमा मतदान केन्द्र कायम गरेको उनको भनाइ छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here