
विधुत प्राधिकरणले तिला १ र तिला २ जलविद्युत आयोजनासँग विद्युत खरिद
सम्झौताको लागि समझदारी गरेको छ । दुई जलविद्युत आयोजनाको प्रबर्द्धक एससी
कम्पनीसँग सोमबार प्राधिकरणले समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।
सोमबार भएको सम्झौतामा विद्युत प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक
घिसिङ र एससी पावर कम्पनीबाट हरिशचन्द्र शाहले हस्ताक्षर गरेका थिए ।
यी दुवै पिकिङ रन अफ दि रिभर आयोजना हुन् । पिकिङ रन अफ दि रिभर को
मापदण्ड अनुसार नै यसको पिपिए हुनेछ । विद्युत प्राधिकरणका सञ्चालक सदस्य
चेतराज जोशी सो आयोजनाले विदेशबाट ऋण ल्याए डलरमा पिपिए हुने बताउँछन् ।
उनले भने, ‘विदेशी लगानी आयो भने उक्त लगानी बराबरको डलर पिपिए हुन्छ,
तर यो कम्पनीले विदेशी लगानी ल्याउने हो वा स्वदेशी लगानीमै बनाउने हो
अहिलेसम्म स्पष्ट छैन ।’
दुई सय ९७ मेगावाटको तीला-१ परियोजनाबाट कालिकोट जिल्लाअन्तर्गत पाखा,
दाहाँ, मान्म, कालिका, गेला, सुकाटिया तथा भर्ता गाविसहरू प्रभावित हुन्छन्
। त्यस्तै तीन सय मेगावाटको तिला २ आयोजनाबाट बराँचुली, जुविथा, चिल्खाया,
छाप्रे, गेला, पाखा तथा दाहाँ गाविसहरू प्रभावित हुन्छन् ।
सम्झौताअनुसार यो आयोजनाको प्रशारणलाइन छिन्चुमा जोडिने छ । छिन्चुसम्म
अहिले एसियाली बिकास बैंकको सहायतामा ७ सय केभीको प्रसारण लाइन निर्माण
भइरहेको छ ।
आयोजनाहरुको निर्माण सन् २०२३ मा सक्ने लक्ष्य राखिएको छ । तर,
प्राधिकरणले तयार पारेको प्रसारण लाइन गुरुयोजना अनुसार, त्यस क्षेत्रमा
प्रसारण लाइन २०२५ मा मात्रै बन्ने छ । उक्त क्षेत्रसम्म प्रसारण लाइन सन्
२०२४ सम्म बिस्तार गर्न प्राधिकरणले नसके प्रबर्द्धक कम्पनीले नै आवश्यक
स्थानसम्म प्रसारण लाइन निर्माण गर्ने गरी सम्झौता भएको घिसिङ बताउँछन् ।
भारतमा विद्युत निर्यात गर्ने लक्ष्य लिएर भारतीय कम्पनी एससी पावरले
दुवै आयोजनाको सर्वेक्षण अनुमतिपत्र (सर्वे लाइसेन्स) लिएको थियो । सुरुमा
यो आयोजनाले डबल सर्किट प्रसारण लाइनमार्फत बाँके जिल्लाको कोहलपुर हुँदै
भारतको सवस्टेशनमा जोड्ने योजना बनाएको थियो ।
पछिल्ला दिनमा भने निर्माण कम्पनीले आयोजनाको विद्युत नेपालमै खपत गर्ने
बताउँदै आएको छ । तिला-१ र तिला-२ मा गरी झण्डै २७ किलोमिटर दुरीको सुरुङ
बनाउनुपर्दछ ।
कर्णालीबासीलाई प्रतिघर १ लाखको सेयर
ऊर्जा मन्त्रालयले एससी पावर कम्पनीसँग कर्णालीका सवै घरपरिवारको
इक्विटी सेयर रहने गरी प्रतिवद्धता माग गर्न पत्राचार गरेको छ ।
उर्जामन्त्री जनार्दन शर्माले तिला १ मा सरकारले दश प्रतिशत सेयर लगानी
गर्ने गरी सम्बन्धित प्रबर्द्धकसँग समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय
गरेका थिए ।
साथै कर्णालीका पाँचै जिल्लाहरूका प्रत्येक घरपरिवारबाट कम्तीमा एक/एक
लाख इक्विटी सेयर लगानी गर्नेगरी प्रबर्द्धकसँग प्रतिवद्धता माग्ने मन्त्री
शर्माको निर्णय छ ।
No comments:
Post a Comment