राजनीतिक नेतृत्वको आडमा भ्रष्टाचारः प्रधानमन्त्री - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 11, 2012

राजनीतिक नेतृत्वको आडमा भ्रष्टाचारः प्रधानमन्त्री


काठमाडौं, माघ २८ - प्रधानमन्त्री बाबुराम भट्टराईले संवैधानिक निकायहरुका प्रमुख आयुक्त र आयुक्तहरुको नियुक्ति राजनैतिक भागवण्डामा नगर्ने प्रतिबद्धता जनाएका छन् ।
‘लामो समयदेखि खालिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत अन्य संवैधानिक निकायहरुका प्रमुख आयुक्त र आयुक्तहरुको नियुक्ति राजनैतिक भागवण्डामा नभई क्षमता, योग्यताको आधारमा पारदर्शी ढङ्गले यथाशीघ्र गरिन्छ,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसमा शनिबार उनले भने ।
प्रधानमन्त्रीले अख्तियारलगायत अन्य संवैधानिक निकायहरुमा योग्य, दक्ष अनुभवी, विशेषज्ञ र क्षमतावान प्रमुख आयुक्त र आयुक्तहरुको पदपूर्तिको लागि सूचना प्रकाशित गरेको जानकारी दिए ।
प्रधानमन्त्री भट्टराईले भ्रष्टाचारको मूल सधैं माथिल्लो तहको राजनीतिक र प्रशासनिक नेतृत्वमा हुने गरेको उल्लेख गरेका छन् । ‘त्यस मध्ये पनि राजनीतिक नेतृत्वको आडमा नै भ्रष्टाचार मौलाउने गर्दछ,’  मूल नै धमिलो भैसकेपछि तलतिर धमिलो हुनु कुनै अनौठो नभएको उल्लेख गर्दै भने, ‘यो ज्यादै विडम्वनापूर्ण कुरा हो कि आज राजनीति, देश र जनताको सेवा गर्ने माध्यमको सट्टा सत्ता र शक्तिको दुरुपयोग गरेर व्यक्तिगत आर्थिक लाभ प्राप्त गर्ने साधन वन्दै गैरहेको छ ।’
प्रधानमन्त्रीको सम्वोधनको पूर्णपाठः
अख्तियार दुरुपयोग अनुसन्धान आयोग २१ वर्ष पुरागरी २२ औं वर्षमा प्रवेश गर्न लागेको सुखद उपलक्ष्यमा मनाउन लागिएको अख्तियार स्थापनादिवस, २०६८ को समारोहमा मलाई प्रमुख अतिथिको रुपमा आयोगमा निमन्त्रणा गरी आफ्नो बिचार राख्ने मौका प्रदान गर्नु भएकोमा म आयोग परिवार प्रति धन्यवाद ब्यक्त गर्न चाहन्छु ।
भ्रष्टाचार नियन्त्रण आज विश्व समुदायकै लागि चुनौतिपूर्ण कार्य भएको छ । भ्रष्टाचारको क्षेत्र र सीमा आजसम्म निर्धारण हुन सकेको छैन । आर्थिक बृद्धि र गरिवी निवारणका लागि भ्रष्टाचार नियन्त्रण पूर्व शर्त नै हो । आम जनताले अनुभूत गर्ने गरी भ्रष्टाचार रोक्न नसकेसम्म मुलुकमा आर्थिक विकास नहुने र आर्थिक विकास नभएसम्म राजनीतिक स्थिरता कायम नहुने एवं राजनीतिक स्थिरता नभएसम्म विकास हुन नसक्ने विगतको तितो सत्यलाई हामीले कदापि विर्सन हुँदैन ।
विगतमा नेपालमा भ्रष्टाचार नियन्त्रण गर्ने कानून र संयन्त्रहरु निर्माण नभएका भने होइनन् । तर सुशासनको अभाव र मौजुदा कानूनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा नै नेपालमा भ्रष्टाचारको समस्या दिनानु दिन बढ्दै गएको हो । ट्रान्सपरेन्सी इन्टरनेशनल लगायत अन्य कतिपय अन्तर्राष्ट्रिय निकायहरुले हाम्रो मुलुकमा बढी भ्रष्टाचार हुने गरेको कुरा औंल्याइ रहेको अवस्थामा अव हामीले सुधार गर्नै पर्दछ । भ्रष्टाचार नियन्त्रण नभएसम्म मुलुकमा लगानी हुन नसकि आर्थिक बृद्धि हुन नसक्ने, गरीवी निवारण नहुने, वितरण एवं आपूर्ति व्यवस्था प्रभावकारी बनाउन नसकिने हुँदा भ्रष्टाचार निवारण गर्न अव ढिलाई गरिनु हुँदैन । भ्रष्टाचार निवारणको पहिलो सर्त सुशासन हो ।
यो सरकारले शान्ति र संविधानलाई पहिलो प्राथमिकता दिएको भएपनि आर्थिक बृद्धि हासिल गर्ने, सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने यसका अन्य एजेण्डा हुन् । कम भ्रष्टाचार हुने मुलुकको सूचिमा आगामी दिनमा नेपाललाई पुर्‍याउन ठोस कार्यक्रम लागु गर्न सरकार पछि नपर्ने कुरा म यहाँ व्यक्त गर्न चाहन्छु । गतवर्ष नेपालले भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि, २००३ को अनुमोदन र सम्पत्ति शुद्धिकरण निवारण विभागको स्थापना गरेको कार्यलाई सरकारले भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा चालेको सकारात्मक कदमको रुपमा लिनुपर्ने हुन्छ । भ्रष्टाचार जघन्य अपराध हो । यसको नियन्त्रण हुनैपर्दछ । भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता मुलुकमा कायम गर्नैपर्छ । भ्रष्टाचार नियन्त्रण गर्ने प्रमुख दायित्व नेपाल सरकारको भएकोले भ्रष्टाचार न्यूनिकरण गर्न नेपाल सरकारले हेलो सरकार मार्फत आम नागरिकसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने काम गरेको छ । आम नागरिकले राज्यबाट पाउनु पर्ने सेवा सुविधा पुर्‍याउन यो सरकार कटिवद्ध छ ।
एउटा तितो यथार्थ मैले यहॉ उल्लेख गर्नै पर्छ । भ्रष्टाचारको मूल सधैं माथिल्लो तहको राजनीतिक र प्रशासनिक नेतृत्वमा हुने गदर्छ । त्यस मध्ये पनि रानजीतिक नेतृत्वको आडमा नै भ्रष्टाचार मौलाउने गर्दछ । यो ज्यादै विडम्वनापूर्ण कुरा हो कि आज राजनीति, देश र जनताको सेवा गर्ने माध्यमको सट्टा सत्ता र शक्तिको दुरुपयोग गरेर व्यक्तिगत आर्थिक लाभ प्राप्त गर्ने साधन वन्दै गैरहेको छ । जव मूल नै धमिलो भैसकेपछि तलतिर धमिलो हुनु कुनै अनौठो हु‘दैन । त्यसैले भ्रष्टाचार नियन्त्रण वा निवारण गर्ने हो भने हामीले त्यसको श्रोत उच्चतम निकायमा नै नियन्त्रण गर्न सक्नुपदर्छ । म राजनीतिलाई भ्रष्टाचारबाट  मुक्त गर्न पूर्ण रुपले प्रतिवद्ध छु । राजनीतिक नेतृत्व भ्रष्टाचारमुक्त र सदाचारयुक्त भएर मात्रै देशमा सुशासनको प्रत्याभूति गराउन सकिन्छ भन्ने मेरो मान्यता रहेको छ । यो अभियानमा साथ दिन म सवैलाई आग्रह गर्दछु ।
भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हो भनेर तपाईं हामी पन्छन मिल्दैन । सबैको प्रयासबाट मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ भन्ने सोचाइलाई हामीले मूर्त रुप दिनै पर्छ । भ्रष्टाचार नियन्त्रण गर्न राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र, संचार क्षेत्र, आम नेपाली नागरिक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वीच समन्वय र सहकार्य अपरिहार्य हुन्छ भन्ने कुरामा कसैको विमति रहन सक्दैन । प्रत्येक सचेत नेपाली नागरिकले भ्रष्टाचार विरुद्धको शुन्य सहनशिलता कायम गर्न मन, वचन र कर्मले प्रतिवद्ध भई भ्रष्टाचारीलाई कानूनको कठघरामा ल्याउने प्रण गरौं र एक आपसमा सहकार्य गरौं । भ्रष्टाचार विरुद्धको महासन्धि व्यवस्थापिका संसदले पारित गरिसकेको परिप्रेक्ष्यमा उक्त महासन्धिले औंल्याएका कार्यहरु यथाशीघ्र पुरा गर्न मौजुदा ऐन नियम परिमार्जन गर्न र आवश्यक पर्ने नयाँ ऐन नियम तर्जुमा गर्न यो सरकार प्रयत्नशील रहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत अन्य संवैधानिक निकायहरुमा योग्य, दक्ष अनुभवि, विशेषज्ञता प्राप्त र क्षमतावान प्रमुख आयुक्त र आयुक्तहरुको नियुक्ति हुन सकोस् भन्ने अभिप्रायले मैले सरकार प्रमुखको पद सम्हालेपछि उल्लेखित संवैधानिक पदपूर्तिको लागि सूचना प्रकाशित गरेको र विज्ञहरुको रोष्टर तयार गरी नियुक्ति गर्ने प्रक्रियामा सरकार रहेको कुरा स्पष्ट पार्न चाहन्छु । त्यसैगरि संवैधानिक निकायको रुपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अझ बढी क्रियासिल, सशक्त र सुदृढ बनाउन म कटिवद्ध छु । साथै भावी संविधानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अझ सशक्त र प्रभावकारी बनाउनु पर्दछ भन्ने मेरो धारणा रहेको छ । लामो समयदेखि खालिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत अन्य संवैधानिक निकायहरुका प्रमुख आयुक्त र आयुक्तहरुको नियुक्ति राजनैतिक भागवण्डामा नभई क्षमता, योग्यताको आधारमा पारदर्शी ढङ्गले यथाशीघ्र गरिने कुरा म यहाँ व्यक्त गर्न चाहन्छु ।
मुलुक संक्रमणकालमा रहेको स्थितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पदाधिकारी विहिन अवस्थामा पनि भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै यसमा कार्यरत राष्ट्रसेवकहरुलाई धन्यवाद दिन चाहन्छु । यसले आफ्नो अनुसन्धान अभियोजनको कार्यलाई भविष्यमा अझ बढी क्रियाशील, सशक्त एवम् बैज्ञानिक ढंगले निरन्तर रुपमाकार्य सम्पादनगर्न सफलहोस् र आयोगलाई आफ्नो काममा निरन्तर सफलता प्राप्त होस् यही मेरो शुभ–कामना छ । 

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here