कांग्रेस सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाबीच पार्टीको विवादबारे आज छलफल हुँदैछ । हिजो देउवाले आफुपक्षीय नेताको भेला गरिरहेका बेला कोइरालाले फोन गरी देउवालाई छलफल लागि आज बोलाउनुभएको थियो । डेढ वर्षअघि कोइरालासँग सभापतिमा पराजित भएपछि देउवाले पार्टी सञ्चालनमा नसघाएर अल्झन मात्र थापेको आरोप कोइराला पक्षको छ । देउवा पक्षले भने सहमतिका आधारमा भन्दा सभापतिले निरंकुश ढंगले पार्टी चलाएको आक्षेप लगाएको छ । विभाजन भएर जुटेपछि गरिएको १२ औं महाधिवेशनलाई एकता महाधिवेशन भनिए पनि नेताहरुको कार्यशैली त्यस्तो देखाएको छ्रैन ।
पछिल्लो पटक असोज ३ गतेको केन्द्रीय समिति बैठकले तरुण दल, महिला संघलगायतका समयावधि सकिएका भ्रातृ संस्थाकहा नेतृत्वलाई बहुमतको निर्णयबाट विघटन गरेपछि देउवा र कोइरालाबीच राम्रोसँग बोलचालसमेत हुन सकेको छैन । यसै विषयमा देउवाले देश दौडाहादेखि पटक–पटक आफुनिकट सदस्यहरुको भेलासमेत गरेका छन् । मंगलवार र बुधवार भएको भेलामा भने सदस्यहरुले पार्टीलाई बचाउने गरी छलफलबाटै विवाद मिलाउन देउवालाई सल्लाह दिएका थिए । देउवाले भ्रातृ संस्था विघटनप्रति असहमति जनाउँदै केन्द्रीय सदस्यबाटै राजीनामा दिनुभएको छ । मनोनीत हुन बाँकी सदस्य, केन्द्रीय विभाग र समिति, भ्रातृ संस्था सबै प्याकेजमा टुंगो लगाउन सभापति तयार भएमात्रै सहमति हुने अडान देउवाले राख्दै आउनु भएको छ । स्थानीय तथा संसदीय निर्वाचनमा टिकट बाँड्ने अधिकार भएको संसदीय समितिमा जान सबैजसो प्रभावशाली नेताहरु जान चाहेकाले पनि सहमति खोज्न नेताहरुलाई गाह्रो परेको देखिन्छ । १५ सदस्यीय संसदीय समितिमा पदाधिकारी पदेन सदस्य हुन्छन् भने बाँकी आठ जना सदस्य मात्रै सभापतिले मनोनीत गर्न पाउने विधानमा व्यवस्था छ ।
No comments:
Post a Comment