पर्देशी भूमिबाट तिमीलाइ चिठ्ठी - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Jun 13, 2015

demo-image

पर्देशी भूमिबाट तिमीलाइ चिठ्ठी

Responsive Ads Here
प्रिय सखी,
अटुट माया एवम् सम्झना...
म त यहाँ आरामै छु, तिमीलाई सञ्चै छ ? भनेर कसरी सोधुँ ? अहिले तिमी र देशमाथि आइपरेको विपत्तिमा मैले खोक्रो सहानुभूति देखाउन बाहेक केहि गर्न त सकिनँ । अहिले म दुखि छु, म यसकारण दु:खी छु कि यस्तो विपत्तिको समयमा तिमीहरू विपत्तिमा तिमीहरु सामु हुन सकिनँ, तिमीहरूले जस्तै मैले पनि यो दैवी प्रकोपको सामना गर्न सकिंन । 

हाम्रा पूर्खा र बुढापाकाले भन्ने गर्थे, “दैवको अगाडी कसैको केहि लाग्दैन ।” आज ती भनाई प्रमाणित भएको छ । आफ्नै अगाडी सबै तहस– नहस हुँदा राम राम भन्नु बाहेक केहि गर्न नसकिने रहेछ । मलाई यस्तो दु:खद परिस्थितिमा तिमीसँगै हुन मन थियो, तिमीसँगै रुन मन थियो, तिमीसँगै यो दैवी विपत्तिको सामना गर्न मन थियो । आफ्नो मातृभूमिमाथि चिरा–चिरा परेको मेरो प्यारो देशको भूमिमा रही सेवा गर्न मन थियो, तर आफूले चाहे जस्तो नहुने रहेछ सखी । हुन त म त्यहाँ भएको भए पनि के नै गर्न सक्थें होला र सखी ? तर टाढा भएर होला मनमा अनेकथरि विचार आउँदो रहेछ, काश मपनि तिमीसँगै भएको भए प्रकृतिक विपत्तिमा परेकाहरूको सेवामा खट्ने थिएँ होला झ् आर्थिक सहयोग गर्न नसकेपनि पनि श्रमदान अवश्य पनि गर्थें । तिमीले जस्तै तिमीहरूसँगै चौरमा रात काट्ने थिएँ होला, डर र त्रासको साथमा । हो सखी, यस्तै यस्तै कुराले मनलाई झन पिरलेको छ । देशभित्र रोजगारीको अवसर तथा काम गर्ने वातावरण नभएर अभाव नै अभावमा बाँच्नुपरेको अवस्थामा बाध्य भएर गरिबीलाई छिचोल्न जन्मभूमि गाउँ, देश र तिमीलाई छोडेको पनि धेरै वर्ष भइसक्यो । 

पराई देशबाट केहि धन कमाएर घरपरिवारसँगै रमाएर बसौंला, सुखसँग खाऔंला, भन्ने एउटा झिनो आशा र सपना बोकेर आएको थिएँ । तर मेरा ती सबै सपना चकनाचुर भएका छन् । मेरो पनि घर भत्कियो रे, गाउँ उजाड भयो रे भन्ने सुनेको छु । तर सखी, मेरो गाउँ र घरमा जेजति क्षति भएको छ, मैले जेजति पीडा भोगेको छु त्यो तिम्रो अगाडी केही होइन, किनभने मेरो परिवारका सबैजना सकुशल हुनुहुन्छ । 

तिमसँगैको त्यो अन्तिम पलमा बसेर दु:खका कुरा गरेको अस्ती जस्तै लाग्छ, मैले मेरो सपना र कल्पना तिमीलाई सुनाउँदै थिएँ, तिमी सुन्दै थियौ । हामीलाई केहि थाहा नहुने रहेछ भोलि के हुन्छ भनेर, भयो पनि त्यस्तै । हाम्रा हजारौं नेपालीको मृत्यु, भौतिक, राष्ट्रिय तथा विश्वसम्पदा सम्पत्तिहरू क्षणभरमै अर्थात आँखा चिम्लिन नपाउँदै एकै समयमा सबै तहस–नहस भयो, बाँच्ने आधार नै सकिएझैं अनुभूति भयो । प्रकृतिको अगाडी हामी कसैको केही नचल्ने रहेछ ।

सखी, प्रकृतिले हामीमाथि ठूलै विपत्ति ल्याइदिएको छ । तर यस्तो भयो भन्दै हामीले हार मान्नु हुँदैन सखी, तिम्रो त झन मेरो भन्दा बढी पीडा छ, ममा भन्दा बढी साहस छ, र त आज तिमी एक्लैले एक्लैले हिम्मत जुटाएर समाना गरेकी छौ । सुन्छु तिम्रो घर पनि गयो रे, बुवा आमा, दाजु बहिनी, सबै जना एकै साथ भाग्न खोज्दा खोज्दै भग्नावशेषले थिचिएर उहाँहरूले एकै ठाउँमा मृत्युवरण गर्नुभयो अरे झ् सखी, यस्तो पीडाको समयमा तिमीमाथि आइपरेको दैविक विपत्ति र दु:खमाथि केवल साहनुभूति मात्र देखाउन सक्छु । जेगरे पनि तिम्रो भागको दु:ख र पीडा म आफूले लिन र भोग्न सक्दिन, म त केवल सहानुभूति देखाउन मात्र सक्छु । तिमीले यतिखेर भोग्नु परिरहेको पीडा महसुश गर्न म स्वयम् त्यस्तै पीडादायी आगोमा जल्नुपर्छ जुन आगोमा तिमी अहिले जलिरहेकी छौ । मान्छेले आफुलाई परेको दु:ख र पीडा मात्रै महसुस गर्न सक्छ, जसलाई परेको छैन उसले देखाउने भनेको र दिने भनेको साहनुभूति मात्रै हो जस्तो लाग्छ मलाई । हो तिमीलाई असह्य पीडा भएको छ तर तिमी महान छौ । तिमी आफ्नो यो सब पीडा भुलाई दु:खीहरुकोलागि समर्पित भएकी छौ । 

वास्तविक मानव त्यो हो जो आफ्नोपीडालाई भन्दा अर्काको खुशीकोलागि समर्पित रहन सक्दछ । आफ्नो लागि जिउने यहाँ धेरै छन् सखी तर तिमी महान छौ जसले आफ्नो पीडालाई थाँती राखेर अरुको पीडा र घाउमा मल्हमपट्टी लगाउन अघि सरेकी छौ । प्रिय तिम्रो/मेरो सबैको सपना टुटेको छ अहिले । बुवा आमा, दाजु, भाई, बहिनी र तिम्रो प्यारो जन्म घर सबै गुमाएकी एउटी यस्तो साहशी छौ तिमी जसले आफूलाई सम्हालेर, आफैंले आफैंलाई सान्तवना दिएर दु:खेको देशलाई मल्हमपट्टी गर्दै छौ । तिमीले र मैले बिदाइको पलमा गरेको बाचाहरु अपुरो रह्यो । म विदेशबाट फर्क पछि तिमी र पूरा काठमाडौं घुम्ने, धरहराबाट काठमाडौं नियाल्ने, नेपालका रमाइलो ठाउँ गोर्खा, सिन्धुपलाञ्चोक आदि इत्यादि ठाउँहरूको भ्रमण गर्ने सपना सबै एकै पलमा तहस–नहस भएको छ । देश नै तहस नहस भएको छ तिम्रो र मेरो सपना सँगसँगै । तर सखी, हामीले हिम्मत हार्नु हुँदैन हेर । प्रिय, हामी सबै नेपाली मिली शोकलाई शक्तिमा बद्लेर देशलाई पुनर्निर्माण गर्नु छ । हिजोभन्दा पनि राम्रा र हरियाली हराभरा गाउँ, शहर र सम्पदाले भरिपूर्ण देश बनाउनु छु । देशलाई पुन: नयाँ दुलहीझैं श्रृङ्गार्नु छ । 

सखी हामीले हिम्मतका साथ अघि बढ्नु पर्छ । हामीले हरेश खानु हुँदैन, प्रकृतिले लुटे पनि हामी नेपालीको हिम्मत र विश्वास विश्वास अझै डगमगाएको छैन, हामी हिजो पनि एक जुट थियौं, आज पनि छौं र भोलि पनि रहिरहने छौं । हिमाल, पहाड र तराई हामी सबै मिली एक स्वच्छ र सुन्दर नेपालको पुनर्निर्माण गर्नेछौ । सखी, जीवनमा विपत्ति आइरहन्छ यो प्राकृतिक परिचक्र हो । यसलाई कसैले रोकेर रोकिन्न । हामी सुखमा मात्तिनु हुँदैन दु:खमा आत्तिनु हुँदैन । प्राय:जसो हरेक वर्ष भूकम्प लगायतका प्राकृतिक विपदाबाट हामीभन्दा पनि ठूलो क्षति व्योहोर्ने जापान र सुनामी लगायत बेहोर्ने देशहरू त पुन: उठेका छन् भने हामी पनि एकसाथ अघि सर्‍यौं भने हिजो भन्दा पनि राम्रो र सबल नेपाल र नेपालीको रुपमा विश्व समुदायमा उदाहरणीय बन्न सक्छौं ।

विदेशीभूमिबाट उही तिम्रो सखी
दीपिका भुषाल

No comments:

Post a Comment

Post Bottom Ad

Pages

Contact Form

Name

Email *

Message *