सुर्खेतः दैलेखमा स्थानीय तहको निर्वाचनमा
नेकपा माओवादी केन्द्र शून्य भएको छ। प्रदेश ६ लाई आफ्नो आधारक्षेत्र
मान्दै आएको माओवादी केन्द्रले जिल्लाको एउटा तहमा पनि जित हात पार्न सकेन।
यस्तै जिल्लाका ९० वटा वडाहरुमध्ये एउटा वडामा पनि विजयी हुन नसकेपछि
स्थानीय तहको नेतृत्वमा माओवादी केन्द्र दैलेखमा शून्य भएको हो।
सरकारको नेतृत्व गरिरहेको माओवादी
केन्द्रले जिल्लाको एउटा तहमा पनि जित हासिल गर्न सकेन। वडा तहमा पनि
नेतृत्व हात पार्न नसकेपछि दैलेखमा माओवादीलाई नैतिक संकट देखिएको हो।
दैलेखमा माओवादीले वडामा पनि जित हासिल गर्न नसकिरहेको अवस्थामा नेपाल
मजदुर किसान पार्टी र राप्रपाले भने जिल्लामा आफ्नो अस्तित्व जोगाएका छन्।
नेमकिपाले जिल्लाका दुई र राप्रपाले एउटा वडा अध्यक्ष जितेका छन्। तर,
माओवादी केन्द्र भने स्थानीय तहको नेतृत्वमा शून्य हुन पुगेको छ।
जिल्लाभरका ९० वटा वडामध्ये एमालेले बहुमत
वडामा जितेको छ। एमालेले ५४ वटा वडामा विजय हासिल गरेको हो। यस्तै,
कांग्रेसले ३३ वटा वडामा जितेको छ। युद्धकालमा स्थानीय बासिन्दासँग
विग्रिएको सम्वन्धलाई माओवादीले हालसम्म पनि सुधार गर्न नसकेको प्रमाण यो
स्थानीय तहको निर्वाचनले पनि दिएको छ। जनयुद्धको क्रममा ज्यादती गरेको
भन्दै दैलेखीले माओवादीविरुद्ध प्रतिकार अभियान चलाएका थिए। २०६१ मंसिरमा
स्थानीय महिलाहरुको नेतृत्वमा दुल्लुमा सञ्चालन भएको प्रतिकार अभियानपछि
दैलेखको जनमत माओवादीविरुद्ध देखिएको थियो।
यस्तै, जिल्लाका पत्रकार डेकेन्द्र थापाको
हत्याविरुद्ध पनि स्थानीय बासिन्दा माओवादीको विरोधमा खनिएका थिए। शान्ति
प्रक्रियामा आएर सरकारको नेतृत्व गरिरहँदा पनि स्थानीयले माओवादीप्रतिको
दृष्टिकोण बदलेका छैनन्।
यसअघि सम्पन्न दुईवटै संविधान सभाका
निर्वाचनमा पनि दैलेखमा माओवादीले अपेक्षा अनुसार मत ल्याउन सकेको थिएन।
माओवादीले दैलेखीसँगको सम्वन्धलाई सुधार गर्न नसकेको प्रमाणका रुपमा
ब्याख्या गर्न थालिएको छ । दैलेखमा जनतासँग युद्धकालमा विग्रिएको सम्वन्ध
सुधार गर्न नसकेकै कारण माओवादीले यो परिणाम भोग्नु परेको विश्लेषण स्थानीय
नागरिक अगुवाहरुको छ।
मध्यपश्चिम विश्वविद्यालयको द्वन्द्व तथा
शान्ति विषयका उपप्राध्यापक कमलराज लम्साल भन्नुहुन्छ,‘द्वन्द्वकालदेखि नै
दैलेखमा माओवादीप्रतिको दृष्टिकोण बदलिएको छैन, दुल्लु आन्दोलन र डेकेन्द्र
थापाको घटनापछि माओवादीप्रति जनतामा नराम्रो छाप परेको छ, अवसरहरु धेरै
हुँदा पनि माओवादीले त्यसलाई मेट्न सकेन।’ यसले गर्दा पनि स्थानीयले
माओवादीलाई भोट नै नदिने पहिलो कारण हुनसक्ने उहाँको भनाइ छ। सशस्त्र
अवस्थामा हुँदा पनि आफ्नाविरुद्धमा आन्दोलन गर्ने दैलेखीसँग बिग्रिएको
सम्वन्धलाई माओवादी नेतृत्वले हालसम्म पनि सुधार गर्न नसक्नु मत प्राप्त
नहुने अर्को कारण भएको उहाँको विश्लेषण छ।
No comments:
Post a Comment