प्रतिव्यक्ति करिब ४० लाख रुपैयाँ खर्चिंदै र ७ महिनासम्मको अनवरत ‘अवैधानिक यात्रा’ छिचोलेर अमेरिका पुगेका ७ नेपालीलाई अमेरिकी अध्यागमनले यो साता जहाजै चार्टर गरेर फिर्ता ल्याइदिएपछि मानव तस्करीका कारण उत्पन्न समस्याबारे चर्चा चुलिएको छ । विदेश जान अपनाइँदै आएका अवैधानिक उपाय र अवैध बाटो अब अस्वीकार्य छ भनेर अमेरिकी सरकारको ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ ले प्रस्ट सन्देश दिएको छ । लाखौं रुपैयाँ लिएर अमेरिकासम्म पुर्याउन तत्पर हुने मानव तस्करको यो अवैध बाटोबारे स्वयं यात्रु (कामदार) लाई जानकारी नभएको भने होइन । आफैंमा सचेत, जानकार र शिक्षित व्यक्तिसमेत अनेक कठिनाइ र खतरा झेल्दै अवैध बाटो र उपाय अपनाउन तत्पर रहिआएको पृष्ठभूमि छुट्टै अध्ययनको विषय हुन सक्छ । तर, कुनै प्रतिबन्धित मुलुकमा झुक्याएर वा नचाहिँदो प्रलोभनमा कामदार ओसारपसार गर्नुचाहिँ जघन्य अपराध हो । तिनलाई उन्मुक्ति दिइरहनु हुँदैन ।
सरकारले सुरक्षित, व्यवस्थित र सम्मानित प्रवासनको कुरा गरिरहे पनि अमेरिकासम्म लैजाने यो अवैध तरिकाले त्यसलाई झूट सावित गरेको छ । त्यसमा राज्य तहबाट सावधानी अपनाउनुपर्ने शिक्षा अमेरिकी सरकारले दिएको छ । अमेरिकाबाट यहाँसम्म जहाजभरि सुरक्षाकर्मी राखेर ल्याइएका नेपालीलाई उदाहरण मान्दै सरकारले सचेतता एवं मानव तस्करी नियन्त्रणमा कडा उपाय अवलम्बन गर्नु जरुरी छ । यो घटना अपराधको पराकाष्ठा मात्र होइन, अत्यन्त लज्जाको विषयसमेत हो । कुनै सार्वभौम मुलुकका लागि आफ्ना नागरिकको व्यापार हुनु जति दु:खद हो, तिनलाई कुनै मुलुकले कठालामा समातेर ल्याइदिनु उत्तिकै प्रतिष्ठा जोडिने सवाल हो । सरकार यसमा गम्भीर हुनैपर्छ । सामान्य हिसाबमा ‘रोजगारीको अवसर नभएकाले बाध्यतामा बिदेसिनुपरेको’ भन्ने सतही तर्क सुनाएर मात्रै अब अमेरिका वा युरोपसम्मको अवैधानिक यात्रालाई पृष्ठपोषण गर्न सकिने स्थिति रहन्न । गाउँघरमै साना उद्यम र रोजगारीका अवसरहरू आफैं पहिल्याउन सकिने र अमेरिका पुग्न खर्चिने ४० लाख रुपैयाँसम्मको स्रोतले लगानीको आधार तयार गर्न सक्नेबारे अब बहस हुनुपर्छ ।
गाउँघरमा उब्जाउ जमिन खाली छाडेर र रोजगारी भनेर सधैं ठूला अवसर वा कामलाई मात्रै हेक्कामा राख्ने प्रवृत्तिमा कमी आउनु जरुरी छ । त्यसमाथि बाहिरी विश्वमा बढ्दै गएको अवसर, रोजगारी र कामको संकुचनका कारण पनि आफ्नो क्षमता आफ्नै ठाउँमा उपयोग गर्नु जत्तिको श्रेयस्कर अरू केही हुन सक्दैन । पछिल्लो साता नेपालीको रोजगार गन्तव्य अरब भूमिमा आइपरेको कूटनीतिक र राजनीतिक संकटका कारण त्यहाँ रहेका लाखौं नेपालीको रोजगारी भविष्यमा पनि एकैसाथ चिन्ता छाइरहेको सन्दर्भमा अबको रोजगार नीतिबारे मन्थन गर्ने बेला भएको छ । सधैं कतार वा साउदी अरबमा विपत्ति आइपर्दा हाम्रा नेपाली कामदारको भविष्य के होला भनेर राज्यले अन्योलपूर्ण मनस्थिति देखाइरहनुभन्दा अबका दिनमा कागजमा सीमित स्वरोजगार नीतिलाई साँच्चै अर्थपूर्ण र व्यावहारिक कार्यपद्धतिका रूपमा स्वीकार गराउन सक्नुपर्छ ।
वैदेशिक रोजगारीका गन्तव्य मुलुकहरू वा अमेरिका/युरोपजस्ता भूभागमा स्वैच्छिक ढंगबाट जान चाहने कामदारबारे एउटै बास्केटमा हालेर मूल्यांकन सुनाउन मिल्दैन । सरकारले तोकेको नियम र प्रबन्धभित्रबाट प्रवासनमा गएर अप्ठ्यारो बेहोर्ने नागरिकका हकमा उद्धार–समन्वय र सहयोग त्यहीअनुरूप हुनुपर्छ । यसपटक अमेरिकासम्म जान स्रोत, साधन र उपाय ‘अवैध’ रोजेर सरकारी तहबाटै घरफिर्तीमा परेका नेपालीको घटना यस्तै उपाय अपनाउने अरूहरूका लागि पनि सावधानीको दृष्टान्त बन्न सक्नुपर्छ । यसका साथै मानव तस्करको अन्तर्राष्ट्रिय सञ्जालबारे सूचना लिन र संलग्नलाई कारबाहीको कडा दायरामा ल्याउन राज्यको कठोर तदारुकता जरुरी छ । अन्यथा यस्ता लज्जास्पद घटनाहरू फेरि दोहोरिन सक्छन्, अपराध बाँचिरहने छ, अवैधानिक बाटोसमेत चलिरहनेछ । तिनलाई रोक्ने दायित्व राज्यको हो । सरकार यसमा मूकदर्शक भइरहनु हुँदैन ।
No comments:
Post a Comment