नदी नियन्त्रण गर्नेलाई भोट - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 11, 2017

नदी नियन्त्रण गर्नेलाई भोट



मेची नदीको किनारमा रहेको भद्रपुर–९ स्थित शिववस्तीका कमलेश मरिकले हरेक वर्ष दुई महिना धर्मशालामा बिताउनु पर्छ । उनी मात्र होइन, यो वस्तीका सबै मानिसहरु दस महिना मात्र घरमा बस्छन् । दुई महिना भने बजारमा रहेको धर्मशालामा बिताउन उनीहरु बाध्य छन् । 

हरेक वर्ष साउन र भदौ महिनामा यहाँका वासिन्दा घरभित्र बस्न सक्दैनन् । मेची नदी बढेर आउने भेलले घरभित्रैबाट पानी कुदाइदिन्छ । बाटो पनि देखिँदैन । पानी कम भएको बेलामा पनि हिलाम्मे बाटोका कारण घरसम्म पुग्न समस्या हुन्छ ।

यी दुई महिनामा स्थानीयलाई घरको सामान कसरी जोगाउने भन्ने चिन्ताले पनि पिरोल्ने गर्छ । कमलेश भन्छन्, ‘पानी बढेको थाहा पाउनेवित्तिकै सामानलाई पोको पारेर घर धुरीमा झुण्ड्याउँछौं । अनि, लाउने र खाने सामान्य कुरा बोकेर धर्मशालातिर छिर्छौं ।’

यही वस्तीकी मञ्जु हरिजन साउन र भदौ महिलामा गाउँमा चारैतिर डुबान हुने बताउँछिन् । ‘मेरो घर चाहिँ अलि अग्लो ठाउँमा भएकाले घरभित्रै पानी पसिहाल्दैन’, उनले सुनाइन्, ‘तर, आँगन ताल हुन्छ ।’
यहाँका वासिन्दाले वर्षाैंदेखि भोग्दै आएको समस्या हो यो । हरेक चुनाव आउँदा यस्तो समस्या भोग्नु नपर्ने नेताको भाषण र आश्वसन सुन्दै आएका छन्, यहाँका वासिन्दाले ।

तर, अहिलेसम्म समस्या ज्यूँकात्यूँ छ । अब भने यस्तो समस्या भोग्नु नपर्ला भन्नेमा आशावादी छन्, उनीहरु ।
लामो समयपछि स्थानीय निकायको निर्वाचन हुन लागेकाले अब निर्वाचित हुने जनप्रतिनिधिले आफ्नो लागि केही गर्देलान् भन्ने लाग्छ उनीहरुलाई ।

‘हामीले नै छान्ने हो, हाम्रो प्रतिनिधिलाई । यसपालि त जसले नदी नियन्त्रण गर्छ उसैलाई भोट दिन्छौं’, मञ्जुले भनिन्, ‘हामीलाई यो समस्याबाट छुटकरा दिलाउने नेतृत्व चाहिएको छ ।’
उनको जस्तै चाह छ, सुवास गणेशको पनि । ‘अब निर्वाचित हुने जनप्रतिनिधिले नदी नियन्त्रण गरिदिए हामीलाई पुग्यो’, गणेशले सुनाए, ‘त्यति भए हामीले शान्तिको सास फेर्न पाउने थियौं ।’

आफूले छान्ने स्थानीय जनप्रतिनिधिले वस्तीको समस्या बुझिदिने उनीहरुको अपेक्षा छ । यहाँका वासिन्दाको अर्को माग भनेको लामो समयदेखि अधुरै रहेको मेची पुल चाँढै बनोस् भन्ने छ ।
‘मेची पुलको निर्माण सम्पन्न भएपछि विकासका ढोका खुल्ने थिए’, मञ्जुले सुनाइन्, ‘अब जसले विकास गर्छ, उसैलाई भोट दिएर जिताउँछौं ।’

कमलेशको एक छोरा र एक छोरी छन् । छोरा सुनिलले एसएलसी सके । तर, अहिलेसम्म कतै केही रोजगारी पाएका छैनन् । थप अध्ययनका लागि छोराले मन गरेनन् ।

‘यिनीहरु जस्तो युवालाई काम लगाउने गरी गाउँमै उद्योगधन्दा र कलकारखाना खुले राम्रो हुने थियो’, कमलेशले भने, ‘हाम्रो समुदायलाई रोजगारी चाहिएको छ । रोजगारी भए हाम्रो जीवनस्तर पनि उकासिने थियो ।’
गाउँमै राम्रो प्राविधिक शिक्षालय खुले विद्यार्थीलाई पढ्न सहज हुने उनको धारणा थियो ।
अहिले यो वस्तीमा आउने हरेक उम्मेदवारसँग यहाँका स्थानीयले यही माग राख्दै आएका छन् । र, यस पटक भने उनीहरु बोलीले होइन, कामले गरेर देखाउने जनप्रतिनिधि चुन्न चाहन्छन् ।

‘अब पनि हामीले नसोचे कहिले सोच्ने ?’, उनीहरु भन्छन्, ‘अब हाम्रो लागि लड्ने मान्छेलाई भोट हालिन्छ ।’
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृह नगर भद्रपुरको मेयरमा काङ्ग्रेसबाट गणेश पोखरेल, नेकपा एमालेबाट जीवन श्रेष्ठ, माओवादी केन्द्रबाट शिवकुमार भण्डारी र राप्रपाबाट नवराज पनेरु (राजु) उम्मेदवार छन् । यहाँको मतदाता संख्या ४२ हजार ५७ छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here