सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा
नम्बर १९ को मतगणनाका क्रममा च्यातिएका सबै मतपत्र लगायतका कागजात मगाएको छ
।
कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण
कार्कीको संयुक्त इजलासले च्यातिएका मतपत्रसहित, मुख्य निर्वाचन अधिकृतको
मतगणना स्थगन निर्णय लगायतका कागजात मगाउने आदेश मङ्गलबार गरेको हो ।
सर्वोच्चका
प्रवक्ता महेन्द्र उपाध्यायले निर्वाचन आयोगको निर्णयसहितका कागजात माग
भएको बताउनुभयो । उपाध्यायले भन्नुभयो, “पुनः मतदान गर्ने निर्वाचन आयोगको
निर्णय लगायतका मतगणना स्थलको मुचुल्कासम्म माग भएको छ, कागजात प्राप्तपछि
अर्को सुनुवाइ हुनेछ । ”
न्यायाधीश
चोलेन्द्रशमशेर जबराको एकल इजलासले जेठ २२ गते जारी गरेको अन्तरकालीन
अन्तरिम आदेश जारी हुने÷नहुने विषयमा भएको द्विपक्षीय छलफलमा इजलासले थप
कागजात माग गरेको हो । अन्तरकालीन आदेशबाट पुनः मतदानको निर्णय छ दिनका
लागि रोकिएको थियो । तर, त्यसयता मुद्दाको सुनुवाइ हुन नसकेपछि अन्तरकालीन
आदेश कायमै छ ।
अदालतले अन्तरिम आदेश जारी गर्ने नगर्ने निष्कर्षमा
पुग्नका लागि थप कागजात माग गरेको हो । आदेशअनुसार भरतपुर–१९ मा पु्नः
मतदान गर्ने निर्वाचन आयोगको निर्णयको सक्कल प्रतिलिपि पनि माग गरिएको छ ।
यस्तै च्यातिएका मतपत्र जे जस्तो अवस्थामा छन्, तिनलाई पनि प्रस्तुत गर्न
भनिएको छ ।
मतगणना स्थगन गर्दा मुख्य निर्वाचन अधिकृतले गरेको
निर्णय र सोसम्बन्धी मुचुल्का पनि पठाउन आदेश गरिएको छ । घटनापछि प्रहरी
सञ्चारको विस्तृत जानकारी पनि अदालतको जानकारीका लागि पठाउन इजलासले आदेश
गरेको छ ।
संयुक्त इजलासले मतपत्र च्यात्नेविरुद्ध जिल्ला अदालत
चितवनमा प्रस्तुत जाहेरी तथा मिसिलसमेत माग गरेको छ । प्रहरीले मतपत्र
च्यात्ने काममा संलग्न माओवादी केन्द्रका दुई जना कार्यकर्तालाई निर्वाचन
कसुरमा मुद्दा चलाएको थियो । माओवादी कार्यकर्ताद्वय मधु न्यौपाने र द्रोण
शिवाकोटीलाई पक्राउ गरी मुद्दा चलाइएको थियो । न्यौपाने र शिवाकोटी दुवै
धरौटीमा रिहा भइसकेका छन् ।
भरतपुर महानगरको मतगणना अन्तिम चरणमा
पुगेको अवस्थामा जेठ १४ गते मध्यरातमा मतपत्र च्यातिएको थियो । अन्तिम दुई
वडामध्ये वडा नम्बर १९ मा समेत १८ सयभन्दा बढी मतगणना भइसकेको अवस्थामा
मतपत्र च्यातिएपछि मतगणना स्थगित भएको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले वडा नम्बर १९ का ९० मतपत्र च्यातिएको प्रतिवेदन निर्वाचन आयोगलाई बुझाएको थियो ।
No comments:
Post a Comment