उदयपुर—आसन्न
स्थानीय तहको चुनावमा टिकट नपाएका नेकपा (एमाले) का आकांक्षीहरु नेकपा
(माओबादी केन्द्र) मा प्रवेश गरेर चुनाव लड्ने तयारीमा लागेका छन्। आफ्नाे
पार्टीले टिकट नदिएपछि उनीहरु पार्टी छाडेर अर्कै पार्टी प्रवेश गरी चुनाव
लड्ने तयारीमा लागेका हुन्।
यसरी एमाले छाडेर माकेमा प्रवेश गरी चुनाव
लड्न लागेकाहरु चौदण्डीगढी नगरपालिकाका मेयरका आकांक्षी कुमारसिंह कार्की र
सुनकोसी गाउँपालिका ५ जाँतेका मेघबहादुर कार्की रहेका छन्। एमालेभित्र
बौद्धिक व्यक्तित्वको छवि बनाएका कुमारसिंह कार्की पार्टीभित्र चौदण्डीगढी
नगरपालिकाको मेयरका प्रमुख दावेदार थिए। उनको नाम सर्वसम्मत सिफारिसमा पनि
परेको थियो। छनौट कमिटीले गरेको सिफारिसलाई माथिल्लो कमिटीले काटेर अर्कै
व्यक्तिलाई मेयर उठाउने निर्णय गरेपछि उनी अर्को पार्टीमा प्रवेश गरेर
चुनाव लड्न लागेको बताए।
कार्की एमालेको उम्मेद्वार छनौट समितिबाट
सर्बसम्मत मेयरका लागि सिफारिसमा परेका थिए। ४ जनाको नाम सिफारिस
गरिएकामध्ये बाँकी ३ जनाले उनलाई सर्वसम्मत छाडेकोमा जिल्ला कमिटीले निर्णय
लिन नसकेको भन्दै प्रदेश कमिटीमा पठाएको थियो। प्रदेशले सिफारिसमै नपरेका
नरेन्द्र राउतलाई मेयर उठाउने निर्णय लिएपछि कार्की माओबादीमा प्रवेश गरेका
हुन्। बुधबार माओबादीमा प्रवेश गरेका उनलाई बिहीबार माओवादीले चौदण्डीगढी
नगरपालिकाको मेयर उठाउने घोषणा गरेको छ।
माओबादीले उनको स्वागतमा बेलटार बजारमा
बिहीबार स्वागत र्याली निकाल्दै मेयरको उम्मेद्वार घोषणा गरेको छ।
र्यालीपछि आयोजित कार्यक्रममा कार्कीले माओवादी केन्द्रले आफूलाई उच्च
सम्मानका साथ चौदण्डीगढी नगरपालिकाको मेयरमा उम्मेदवार बनाउन लागेकोमा
पार्टीप्रति आभार व्यक्त गरे। उनले ४ दशक उमेर र उर्जा एमालेमा बिताए पनि
पार्टीले उचित मूल्यांकन नगरेकाले पार्टी छाड्न बाध्य भएको दुखेसो गरे।
शिक्षक युनियन उदयपुरका पूर्व अध्यक्ष तथा त्रियुगा बचाऊ अभियानका
अध्यक्षसमेत रहेका कार्की चारदशक लामो शिक्षण पेशाबाट सेवानिबृत्त हुन्।
माकेले चौदण्डीगढीको मेयरमा कुमार खड्कालाई
उठाउने निर्णय यसअघि नै गरेको भए पनि उनलाई पछि हटाएर कार्कीलाई उठाउने
निर्णय गरेको जनाएको छ। एमालेले नरेन्द्र राउतलाई र कांग्रेसले निर्मल काजी
राईलाई मेयर उठाउने तय गरेको छ।
अर्का एमाले कार्यकर्ता मेघबहादुर कार्की
एमाले छाडेसँगै सुनकोसी ५ बाट वडाध्यक्षको टिकट लिएका छन्। सुनकोसी ५
एमालेका सशक्त कार्यकर्ता रहेका कार्की वडा कमिटीले वडाध्यक्षमा सिफारिस
गरेकोमा पार्टी जिल्लाले अर्कै व्यक्तिलाई उठाउने भएपछि पार्टी छाडेर
माकेबाट चुनाव लड्न लागेको बताए। माकेले उनलाई सुनकोसी ५ को वडाध्यक्षको
उम्मेद्वार बनाउने घोषणा गरेको पार्टी इन्चार्ज मोहन खत्रीले बताए।
No comments:
Post a Comment